आज हामी आइपुगेका छौं उत्तरी क्यालिफोर्नियाको सुन्दर शहर नोभाटोमा अवस्थित “अनुभूति रिट्रिट सेन्टर” मा।
“अनुभूति” अर्थात् मनले महसुस गर्ने शान्त अनुभूति। नाम जस्तै, यो स्थानले यहाँ आउने हरेक व्यक्तिलाई मानसिक शान्ति, सकारात्मक ऊर्जा र आत्मिक सन्तुलन दिने प्रयास गर्दछ। ब्राह्माकुमारीज संस्थाद्वारा सञ्चालन गरिएको यो रिट्रिट सेन्टर हरियाली डाँडाकाँडा, खुला प्राकृतिक क्षेत्र र शान्त वातावरणको बीचमा अवस्थित छ। यहाँबाट देखिने बे एरियाको दृश्य साँच्चिकै मनमोहक छ। शहरको भीडभाड र दैनिक व्यस्तताबाट केही समय टाढा बसेर आत्मिक शान्ति खोज्नेहरूका लागि यो स्थान एकदमै उपयुक्त गन्तव्य बनेको छ।
अब यदि स्थान र दूरीको कुरा गर्ने हो भने — यो केन्द्र सान फ्रान्सिस्कोबाट करिब ४५ मिनेटको दूरीमा अर्थात् लगभग ३५ माइल उत्तरतर्फ पर्दछ। सान राफायलबाट करिब २५ मिनेट, ओकल्याण्डबाट लगभग ४५ माइल, स्यान होजेबाट झन्डै ५० माइल, र नापा भ्यालीबाट करिब १८ माइलको दूरीमा रहेको छ। त्यसैले बे एरियाको जुनसुकै ठाउँबाट पनि यहाँ पुग्न सहज छ, विशेषगरी सप्ताहन्तमा परिवार, साथीभाइ वा आफैंलाई केही समय शान्त वातावरणमा बिताउन चाहनेहरूका लागि। यहाँ ध्यान, योग, आत्मिक प्रशिक्षण, मेडिटेशन र विभिन्न वेलनेस कार्यक्रमहरू सञ्चालन हुने गर्दछन्, जसले मानिसलाई मानसिक रूपमा अझ सकारात्मक र सन्तुलित बन्न सहयोग पुर्याउँछ। त आउनुहोस्, आज “जाँदा जाँदै” मार्फत हामी तपाईंलाई देखाउँदैछौं नोभाटो, क्यालिफोर्नियामा रहेको यो शान्त र प्रेरणादायी स्थान — अनुभूति रिट्रिट सेन्टर। म रहन्छु तपाईंको साथमा, नेपाली ९७७ बे एरियाबाट।

Add comment